NM Khabar 5 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रचण्ड भन्छन्: मुलुकको राजनीति र राज्यका निकाय अन्योलमा छन्, लक्षण राम्रो छैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका निकाय अन्योलमा रहेको बताएका छन्। उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लक्षण राम्रो नभएको टिप्पणी गरेका छन्। देशको स्वतन्त्रता, स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
Sarita Pandey
Sarita Pandey
5 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
प्रचण्ड अन्योल
Share:

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्। उनले वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै अहिले देखिएका राजनीतिक तथा प्रशासनिक लक्षणहरू राम्रो नभएको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारका राम्रा काममा सहयोग रहने भए पनि गलत कामको विरोध र खबरदारी गर्ने आफ्नो स्पष्ट नीति रहेको दोहोर्‍याए। ‘अहिले कता-कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ,’ पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै दाहालले भने, ‘सुरुदेखि हामीले भनेका छौं, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ। हरेक क्षेत्रमा हाम्रो त्यही भनाइ रहिआएको छ, तर अहिले लक्षण राम्रो देखिएको छैन।’

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र उत्तरदायी बन्न आग्रह गरे। मुलुक अन्योलतर्फ धकेलिएका बेला समाजका सबै सचेत पक्ष एकजुट हुनुपर्ने उनको भनाइ थियो।

देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिँदै उनले लामो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै पक्षलाई जिम्मेवार हुन आह्वान गरे। ‘सबभन्दा ठूलो कुरा राष्ट्र नै हो। राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र सबै सचेत नागरिकहरूले फेरि राष्ट्र, जनता र आफ्नो स्वाधीनताप्रति अझ गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र लामो संघर्षबाट प्राप्त गरेको स्वतन्त्रता तथा लोकतन्त्रको रक्षामा केन्द्रित हुनैपर्छ।’

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार