प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संघीय संसदमा अनुपस्थित हुने भएका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।
प्रधानमन्त्रीको लगातारको अनुपस्थितिमाथि नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कडा आलोचना गरेका छन्। उनले प्रधानमन्त्री आफ्नो संवैधानिक तथा संसदीय जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीले नाराबाजी र लगातारको अवरोध गरेका थिए, जसका कारण सभामुखले बैठक आजका लागि स्थगित गरेका थिए।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने दायित्वबाट भाग्न खोजिरहेको टिप्पणी गरेका छन्। उनका अनुसार नीति तथा कार्यक्रम र त्यससम्बन्धी छलफल संसदको मूल कार्य भएकाले त्यसमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनु आवश्यक हुन्छ।
राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै अवधारणा भएको उल्लेख गर्दै भट्टराईले त्यसको जवाफ दिनु स्वाभाविक र अनिवार्य दायित्व भएको बताए। उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर छलफलमा उठेका प्रश्न स्पष्ट पार्नु, संसद्का निर्णय र निर्देशन पालना गर्नु संसदीय लोकतन्त्रको अभ्यास भएको स्मरण गराएका छन्।
अन्य लोकतान्त्रिक मुलुकहरूको अभ्यास उल्लेख गर्दै भट्टराईले ती देशमा प्रधानमन्त्रीले संसदमार्फत नीति घोषणा गर्ने, विशेष सम्बोधन गर्ने र विदेश भ्रमणबारे समेत जानकारी दिने परम्परा रहेको बताएका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी संसदलाई छलेर अघि बढ्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।
आजको बैठकमा अर्थमन्त्रीले जवाफ दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुनेछ।
