पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले विदेशमा उपचार गराउँदा राज्यकोषबाट लिएको करिब ४ करोड ३५ लाख रुपैयाँ असुलउपर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सर्वोच्च अदालतमा बिहीबार दर्ता भएको यो रिट निवेदक सरोजकुमार न्यौपानेले दायर गरेका हुन्। रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।
पूर्वराष्ट्रपति यादवले अमेरिका र भारतमा उपचार गराउँदा राज्यकोषबाट कुल ६५ लाख २५ हजार रुपैयाँ लिएको रिट निवेदनमा उल्लेख छ। यसमा विभिन्न मितिमा मन्त्रिपरिषद्बाट स्वीकृत रकम समावेश छ। पूर्वप्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराउँदा राज्यकोषबाट २ करोड ३९ लाख ३५ हजार ७१४ रुपैयाँ लिएको विवरण रिटमा छ। यो रकम २०७६ सालको मन्त्रिपरिषद् निर्णयबाट लिइएको थियो। पूर्वप्रधानमन्त्री खनालले उपचारबापत ८१ लाख ३९ हजार १५५ रुपैयाँ राज्यकोषबाट लिएको रिटमा दाबी गरिएको छ। यो रकम २०७८ असार ७ गतेको मन्त्रिपरिषद्को प्रस्तावमा स्वीकृत भएको थियो। पूर्वपरराष्ट्रमन्त्री कोइरालाले २०७३ साल कात्तिक २८ गते ५० लाख रुपैयाँ उपचार खर्च राज्यकोषबाट लिएको रिट निवेदनमा उल्लेख छ।
पदाधिकारीबाट रकम असुलीको माग
निवेदक न्यौपानेले बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलसहित ९ जनाबाट पनि उपचार खर्च फिर्ता गराउन माग गर्दै रिट निवेदन पेश गरेका थिए। तर, सर्वोच्च प्रशासनले सुरुमा चार जना पूर्वविशिष्ट पदाधिकारीको हकमा मात्र निवेदन दर्ता गरेको छ। रिट निवेदनमा पूर्वविशिष्ट पदाधिकारीहरूले कानूनविपरीत राज्यकोषबाट रकम लिएको उल्लेख छ।
पूर्वराष्ट्रपति यादवले विभिन्न मितिमा १० लाख, १० लाख, २ लाख, ३ लाख २५ हजार, १० लाख, २५ लाख र ६५ लाख २५ हजार रुपैयाँ राज्यकोषबाट लिएको उल्लेख छ। पूर्वप्रधानमन्त्री ओलीले भने २०७६ सालमा दुई पटक गरी १ करोड २२ लाख ९७ हजार ९५० रुपैयाँ र १ करोड १६ लाख ३७ हजार ७६४ रुपैयाँ लिएको देखिन्छ। पूर्वप्रधानमन्त्री खनालले ८१ लाख ३९ हजार १५५ रुपैयाँ र पूर्वपरराष्ट्रमन्त्री कोइरालाले ५० लाख रुपैयाँ राज्यकोषबाट लिएको विवरण रिटमा छ।
सर्वोच्च अदालतमा झन्डै एक साताअघि पेश भएको यो रिट बिहीबार मात्र दर्ता भएको हो। रिटको पेसी भोलि शुक्रबार तोकिएको छ।
