पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिकाबाट १०२ किलो ६३६ ग्राम गाँजासहित भारतीय नागरिक गुड्डु बर्मालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा कार रोकेको थियो। आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडकमा यो घटना भयो। भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार खानतलासी गर्दा गाँजा बरामद भयो।
भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले कार चलाएका थिए। बीआर ०१ सीयू ३५४४ नम्बरको रातो स्पोर्ट्स कारबाट गाँजा बरामद भयो। १० प्याकेटमा लुकाएको १०२ किलो ६३६ ग्राम गाँजा फेला पर्यो। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीले यो जानकारी दिए।
गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
