सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको चरम अभाव छ। जनावरको टोकाइपछि उपचारका लागि पुगेका बिरामीहरू खोप नपाएर समस्यामा परेका छन्।
महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अर्जुन भट्टले जेठ महिनादेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएको बताए। ‘हामीसँग खोप छैन,’ उनले भने, ‘दैनिक ४०/५० जना बिरामी खोप लगाउन आउँछन् तर सेवा दिन सकिएको छैन।’
धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यो समस्या सुदूरपश्चिममा मात्रै नभई देशभर रहेको जनाएको छ। केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले देशभर नै खोपको अभाव रहेको र कहिले आपूर्ति हुन्छ भन्ने यकिन नभएको बताए।
प्रदेश आपूर्ति केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा खोप उपलब्ध गराउँदै आएको थियो।
खोप अभावका कारण केही बिरामीहरू निजी स्वास्थ्य संस्थाबाट महँगो शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन्। ‘सरकारी अस्पतालमा पाइएन, निजीबाट ६४५ रुपैयाँमा खरिद गर्यौं, त्यो पनि सहजै पाइएन,’ सेवाग्राही लिलि कुँवरले भनिन्, ‘तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने हो कि भन्ने चिन्ता छ।’
