भदौ १० गते रसुवामा भोटेकोशीमा आएको बाढीले बगाउँदा सम्पर्कविहीन भएका गङ्गाराम मण्डलका परिवारजन नजिकिँदै गरेका चाडपर्वले थप चिन्तित बनेका छन्। महोत्तरीका गङ्गाराम काठमाडौँस्थित ऋचा टुर्स एण्ड ट्राभल कम्पनीमा पर्यटकको खाना पकाउने काम गर्थे। मानसरोवर जाने क्रममा उनी बेपत्ता भएका थिए।
घरमा आमा मिथिलादेवी मण्डल, बुबा अशेश्वर मण्डल, पत्नी गुञ्जा र चार छोराछोरीसहित आठ जनाको परिवार छ। परिवारको मुख्य कमाइ गर्ने व्यक्तिको बेपत्ताले दशैं, तिहार, छठ जस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा चिन्ता थपिएको छ। “छोरा नआए चाडपर्वको के अर्थ हुन्छ र?” आमा मिथिलादेवीले बिलौना गरिन्।
गङ्गारामका बुबा अशेश्वरले छोराको फोटो देखाउँदै सोधखोज गरिरहेका छन्। ठूलो छोरा काठमाडौँमा बाबुको खोजीमा खटिएका छन्। घरमा रहेका साना बालबालिकालाई बुबाको पर्खाइ छ। १० वर्षीय कान्छा छोरा एकलव्यले दाजुले बुबालाई लिएर आउने आश व्यक्त गर्दा परिवारका सदस्य झनै भक्कानिन्छन्।
बेपत्ता भएको १४ दिन बितिसक्दा पनि गङ्गारामको कुनै खबर नआएपछि परिवारजनको आशा कम हुँदै गएको छ। ट्राभल्स कम्पनीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म खोजी गरे पनि उनी फेला नपरेको जानकारी दिएको छ। परिवारजनले गङ्गाराम जस्तो अवस्थामा भए पनि सकुशल फिर्ता ल्याइदिन सरकार र कम्पनीसँग आग्रह गरेका छन्। पिता अशेश्वरले “केही त चाहियो नि! नत्र कसरी चित्त बुझ्छ” भन्दै पीडा पोखे।
