सरकारले रसुवा भोटेकोसी बाढीले अवरुद्ध पारेको विद्युत सेवा पुनः सञ्चालन अभियानलाई तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० को विनाशकारी बाढीको भोलिपल्टैदेखि स्रोत साधन र जनशक्ति परिचालन गरी विद्युतीकरणको काम अघि बढाएको हो।
बाढीले विद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि मन्त्रालयले वैकल्पिक उपाय अपनाएर विद्युतीकरणलाई तीव्रता दिएको छ। यसैक्रममा, बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा मंगलबार विद्युत सेवा पुनः सञ्चालन गरिएको छ।
ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विदुर–१० र ११ मा विद्युत सेवा पुनःसुचारु भएको छ। बाढीले विद्युत प्रभावित भएको तारकेश्वर–४ मा पनि सेवा पुनः सुरु भएको छ। मन्त्री श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत सेवा पुनःस्थापना भइसकेको छ।
मन्त्री श्रेष्ठले विद्युत सेवा नपुगेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि वितरण गरिने बताए। घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरणको कार्य पनि अघि बढाइएको छ। नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा खटिएका छन्।
