राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र सञ्चार गृहहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार तथा गृह मन्त्रालयसँग माग गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा राज्यको चौथो अंगमाथि त्रास सिर्जना गर्ने उद्देश्यले भइरहेका यस्ता रहस्यमय गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। उनले ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन्’ भनी स्पष्ट पारेका छन्।
आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको बताउँदै यसको रक्षार्थ रास्वपा सदैव कटिबद्ध रहेको पनि उल्लेख गरेका छन्। प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता कदमहरूको पार्टीले भर्त्सना गरेको छ।
कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयअगाडि सोमबार बिहान बाटो अवरुद्ध हुने गरी तीन वटा गाडीहरू पार्क गरिएका थिए। तीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ।
यातायात व्यवस्था विभागको विवरणअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले पाँच दिनअघि मात्र नामसारी गरेको पाइएको छ। अनलाइनखबरको कार्यालयअगाडि रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ। हिमालय टेलिभिजनअगाडि राखिएको बा.१० च १२५५ नम्बरको गाडी पनि एक निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, तीनै गाडी त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। रास्वपाले सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
