राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका पूर्वसभापति चन्दन स्वर्णकारलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। पार्टीले आफूलाई निष्कासन गरेपछि स्वर्णकारले बाराबाट निर्वाचित संघीय सांसदहरूविरुद्ध ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) का लागि हस्ताक्षर सङ्कलन गर्ने घोषणा गरेका छन्।
स्वर्णकारले पार्टीभित्र टिकट बिक्री भएको र विधि प्रक्रिया मिचिएको आरोप लगाउँदै आएका छन्। उनले पार्टीको आन्तरिक बैठकहरूमा यस विषयमा आवाज उठाउँदा बाराका चारै संघीय सांसद मिलेर आफूविरुद्ध केन्द्रीय संगठन विभागमा उजुरी दिएको बताएका छन्। २०८२ चैत १७ गते आफूविरुद्ध उजुरी परेको र त्यसकै आधारमा कारबाही गरिएको उनको दाबी छ।
उनले पार्टीले २५ हजार रुपैयाँ प्रतिउम्मेदवार शुल्क लिएर आवेदन गराए पनि धेरैजसोलाई टिकट नदिएको र जनकपुरबाटै टिकट बिक्री भएको आरोप लगाए। बारा जिल्लाबाट समानुपातिकतर्फ ममता शर्माले ५० हजार र स्वर्णकारसहित २२ जनाले प्रत्यक्षतर्फ २५ हजार रुपैयाँ आवेदन शुल्क बुझाएको तर त्यो रकम फिर्ता नभएको उनको गुनासो छ।
गत जेठ १० गते बसेको बारा जिल्लाको विस्तारित बैठकमा सांसदहरू लखेटिएको घटनाको प्रसंगमा बोल्दै स्वर्णकारले केन्द्रीय संगठनले विवादास्पद व्यक्ति कामिनी चौधरीलाई परिचालन गरी षड्यन्त्र गरेको आरोप लगाए। उक्त बैठकमा सांसदहरूले सयौंको संख्यामा भाडाका गुण्डाहरू ल्याएको र विवाद बढेपछि संस्थापक कार्यकर्ताले सांसदहरूलाई कार्यक्रमस्थलबाट लखेटेको उनले बताए।
स्वर्णकारले सांसदहरूले वडा र पालिकाको टिकट बिक्री गरेर पार्टीभित्र आर्थिक चलखेल गरेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरे। पार्टीभित्र विधि र विधान लागू हुनुपर्ने भन्दै उनले निष्पक्ष अधिवेशनको माग गरेका छन्। यदि आफ्नो माग पूरा नभए समानान्तर समिति गठन गर्ने चेतावनीसमेत उनले दिएका छन्।
निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रको विकास निर्माणका मुद्दा सदनमा नउठाएको र फेसबुक तथा टिकटकमा स्टन्टबाजी गर्ने बाहेक केही नगरेको भन्दै स्वर्णकारले आलोचना गरेका छन्। उनले बाराका कर्चोवा, पिपरपाती, मटिहर्वा, सिम्रौनगढ, कवही गरी ५ वटा छोटी भन्सारहरूको विकासमा पनि सांसदहरूको ध्यान नगएकोतर्फ इंगित गरे।
