राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको कलैयामा शनिबार आयोजित विस्तारित बैठकमा सांसदहरूमाथि कार्यकर्ताले दुर्व्यवहार गरे। जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताले सांसदहरूको विरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदलाई बैठक स्थलबाट सुरक्षित निकालेको छ।
सांसदहरूले चुनावका बेला स्वर्णकारले आफूहरूलाई सहयोग नगरेको आरोप लगाएका थिए। सोही कारण गत वैशाख ३० गते बाराबाट निर्वाचित सांसद रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेताले स्वर्णकारलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेका थिए।
केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो। केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते प्रेषित पत्रमार्फत यो निर्णयको जानकारी गराइएको थियो।
स्वर्णकार निलम्बनमा परेपछि पार्टीका पुराना कार्यकर्ता रुष्ट बनेका थिए। उनीहरूले विभिन्न पार्टीबाट आएर सांसद बनेकाहरूले पुराना र निष्ठावान् कार्यकर्तालाई उपेक्षा गरेको गुनासो गरेका छन्।
असन्तुष्ट कार्यकर्ताको विरोध र दुर्व्यवहारपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी प्रहरीले चारै जना सांसदलाई बैठक स्थलबाट निकालेर स्थानीय एक होटलमा पुर्याएको छ।
स्वर्णकारले आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन्।
यस घटनाबारे पार्टीको केन्द्रीय नेतृत्वबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
