राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ विधानले पार्टी सभापतिको निर्देशन नमाने प्रधानमन्त्री पद नै धरापमा पर्ने व्यवस्था गरेको छ।
संशोधित विधानको दफा ११ (क) मा पार्टी सभापतिको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै भनिएको छ, ‘पार्टी सभापति संगठनको सर्वोच्च कार्यकारी प्रमुख, वैचारिक मार्गनिर्देशक र पार्टी एकताको प्रतीक हुनेछ।’
विधानको दफा ११ (क) को उपदफा अ (३) ले ‘संसदीय दलसँगको समन्वय’ उपशीर्षकमा नयाँ प्रावधान थपेको छ। यसअनुसार, सभापति संसदीय दलको नेता नरहे पनि संसदमा पार्टीको नीति, सिद्धान्त र निर्णय कार्यान्वयनका लागि संसदीय दललाई नीतिगत मार्गनिर्देशन दिन सक्नेछन्।
सभापतिले दिएको यस्तो नीतिगत मार्गनिर्देशन पालना गर्नु संसदीय दल, यसका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुनेछ।
विधानको दफा ६८ मा ‘संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वान सम्बन्धी व्यवस्थाहरू’ उल्लेख गरिएको छ। उक्त दफाको उपदफा १ मा देहायका कुनै अवस्थामा संसदीय दलको नेताको पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ, जसमा उपदफा १ (ङ) मा भनिएको छ— ‘यस विधानको ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा।’
