रौतहटको बलवान इँटा उद्योग परिसरमा पानी जमेको खाडलमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय दीपेन्द्र राय यादवका छोरा सुप्रित यादव सोमबार दिउँसो करिब १२:४५ बजे खाडलमा डुबेको अवस्थामा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको पुष्टि गरे। इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा खटिएको टोलीले मुचुल्का उठाउने काम सक्यो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
प्रहरीका अनुसार बालक कसरी खाडलमा पुगे र डुबेर मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धान जारी छ।
इँटाभट्टाका लागि माटो खनिएका खाडल काम सकिएपछि नपुरिँदा वर्षायाममा पानी जम्छ। यस्ता खुला र असुरक्षित खाडल बालबालिकाका लागि जोखिमपूर्ण बनेका छन्।
स्थानीयवासीले खाडल तत्काल पुर्न वा सुरक्षा व्यवस्था गर्न इँटाभट्टा सञ्चालकहरूको ध्यानाकर्षण गराएका छन्।
