मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटमा बाढीको उच्च जोखिम: प्रशासनद्वारा तटीय बासिन्दालाई सतर्कता

आगामी दुई दिन रौतहटसहित मधेश प्रदेशमा भारी वर्षाको सम्भावना छ। लालबकैया, बागमती लगायत नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। उद्धार तथा राहतका लागि स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
रौतहट बाढी जोखिम
Share:
१७७

आगामी दुई दिन रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार जिल्लाका नदी तथा खोलामा बाढी आउन सक्ने जोखिम छ। प्रशासनले आइतबार सूचना जारी गरी यसबारे जानकारी दिएको हो।

लाल बकैया, बागमती, झाँझ खोला लगायतका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ। नदी किनार वा खोलानजिक अनावश्यक रूपमा नजान र सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध गरिएको छ।

अभिभावकलाई बालबालिकालाई नदी तथा खोलातर्फ जान नदिन आग्रह गरिएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, मौसम प्रतिकूल रहेका बेला लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन पनि भनिएको छ।

स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थालाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। प्रशासनले जेसीबी, दमकल, एम्बुलेन्स, उद्धार सामग्री, खाद्यान्न तथा गैरखाद्य सामग्री तयारी अवस्थामा राख्न भनेको छ।

मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ। कुनै पनि विपद् वा आपत्कालीन अवस्था आएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी–११४४), नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४) वा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार