रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा करिब २० वर्षीया नवविवाहिता निशा कुमारी साह सोनारको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा हत्या गरी आत्महत्याको रुप दिन खोजेको आरोप लगाएको छ।
निरज कुमार साह सोनारकी श्रीमती निशा शनिबार आफ्नै कोठामा साडीको पासो लगाई बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको टोली घटनास्थल पुगेको थियो। इन्स्पेक्टर प्रमोद खड्काको टोलीले मुचुल्का उठाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। मृतकका बुबा ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले छोरीको हत्या भएको दाबी गरेका छन्। उनले ज्वाइँ निरज साह सोनार र परिवारले घटनालाई आत्महत्या देखाउन शव झुन्ड्याएको आरोप लगाए।
रबिन्द्रका अनुसार गत फागुनमा विवाह भएपछि निरजले एसी, नगद तथा दाइजो माग्दै छोरीलाई यातना दिएका थिए। घटनापछि निरज घर छाडेर फरार रहेको पनि उनको आरोप छ।
स्थानीयवासी र आफन्तले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र कारण खुल्ने बताए। हाल सबै पक्षबाट प्रमाण संकलन भइरहेको उनले जानकारी दिए।
