रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही वडाका २८ वर्षीय त्रिकिशोर कुशवाहालाई प्रहरीले सवारी ज्यान मुद्दामा पक्राउ गरेको छ।
२०८२ असार ६ गते मौलापुर–जयनगर सडकखण्डमा वडाध्यक्ष कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा त्रिकिशोरको मोटरसाइकल पछाडि सवार २० वर्षीय निरज कुशवाहा गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा २०८२ माघ १७ गते मृत्यु भएको थियो।
सवारी ज्यान मुद्दामा फरार रहेका दुवैजनालाई प्रहरीले २०८३ साउन २५ गते नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन्।
