रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित आधारभूत विद्यालय मेवाका ५४२ विद्यार्थी गर्मीमा पंखाविहीन कक्षा कोठामा अध्ययन गर्न बाध्य छन्। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून हुँदा पठनपाठनमा गम्भीर असर परेको छ।
विद्यालयका १२ वटा कक्षा कोठामा पंखाको व्यवस्था छैन। चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङ नहुँदा पंखा जडान गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ। चर्को तापक्रमले विद्यार्थी मात्र नभई शिक्षक र कर्मचारीसमेत असहज वातावरणमा काम गर्न बाध्य छन्।
प्रधानाध्यापक रामजनम महतोका अनुसार भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले समस्या भएको हो। वायरिङका लागि करिब १ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान छ।
“विद्यालयको आम्दानीको स्रोत छैन। बजेट अभावले वायरिङको काम अगाडि बढाउन सकेका छैनौं,” प्रधानाध्यापक महतोले भने।
गर्मी र पूर्वाधार अभावसँगै शिक्षकको चरम कमी छ। ५४२ विद्यार्थीका लागि प्राथमिक तहका चार शिक्षक, एक निम्न माध्यमिक अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन्। यसले एक शिक्षकले औसतमा ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ।
मधेश प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षकको सरकारी मापदण्ड छ। यस विद्यालयमा आवश्यक दरबन्दीको ठूलो अभाव छ। शिक्षक कम हुँदा पठनपाठन, गृहकार्य मूल्यांकन र सिकाइ अनुगमनमा कठिन भइरहेको छ। यसले कक्षा व्यवस्थापन र विषय शिक्षणमा प्रत्यक्ष असर पारेको छ।
प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, वायरिङ र पूर्वाधार सुधारका लागि नगरपालिकालाई पटकपटक आग्रह गरे पनि कुनै पहल नभएको गुनासो गरेका छन्।
“नगरपालिकालाई समस्याबारे बारम्बार जानकारी गराएका छौं। तर समाधानका लागि ठोस कदम चालिएको छैन,” उनले भने।
गर्मीमा विद्यार्थीको स्वास्थ्य, सिकाइ र शैक्षिक वातावरण प्रभावित भइरहेको अवस्थामा अभिभावक र स्थानीयवासीले तत्काल बजेट व्यवस्थापन गरी वायरिङ, पंखा जडान र शिक्षक थप गर्न नगरपालिकासँग माग गरेका छन्। यस विषयमा प्रतिक्रिया लिन फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनसँग सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।
