त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८३ कात्तिक २८ गते करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक रेवराज टिघारेलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराका अनुसार अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति टिघारेलाई थाइल्यान्डबाट काठमाडौं आउँदा नियन्त्रणमा लिइएको हो।
भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय टिघारेको लगेज शङ्का लागेर चेकजाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइएको साढे ५ किलो सेतो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए। ब्यूरोका अनुसार यसको अवैध बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पुग्छ। प्रहरीले टिघारेको साथबाट एक थान पासपोर्ट, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्र पनि बरामद गरेको छ।
टिघारे अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालका मुख्य व्यक्ति
प्रहरी अनुसन्धानबाट टिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति भएको खुलेको छ। लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार उनले यसअघि पनि दुई पटक लागुऔषध भारत पुर्याएको देखिन्छ।
टिघारेको ट्राभल हिस्ट्री अनुसार उनी सन् २०२५ नोभेम्बर ४ मा पहिलो पटक लाओसबाट नेपाल आएर हवाई मार्ग हुँदै भारतसम्म लागुऔषध पुर्याएका थिए। त्यसैगरी सन् २०२६ फेब्रुअरी २६ मा दोस्रो पटक लाओसबाट नेपाल आएर स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पुर्याएको अनुसन्धानबाट खुलेको छ। लाओसबाहेक उनले जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका टिघारेमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको छ।