रोल्पा र जाजरकोटमा लगातारको वर्षाले पहिरो पीडित परिवारलाई राहत पुर्याउन कठिनाई भएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार वर्षाले उद्धार र राहत सामग्री आपुर्तिमा चुनौती थपेको छ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो प्रभावितहरू एकसरो त्रिपाल र लत्ताकपडाको भरमा छन्। प्रदेश सरकारबाट पठाइएको राहत सामग्री जिल्ला प्रहरी कार्यालयमै थन्किएको छ। ती सामग्री पुर्याउन पहल भइरहेको प्रजिअ अधिकारीले बताए।
पहिरोबाट १० घर पुरिएपछि र गाउँका झण्डै ६० घर जोखिममा परेपछि ७० परिवारका २ सय ३० जना विस्थापित भएका छन्। उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालय र विष्णु प्राथमिक विद्यालय रार्नेटामा राखिएको छ। त्यस्तै भेरी नगरपालिका–२ सुनारगाउँका ३० जनालाई सुनखाँडास्थित खाली चौरमा राखिएको छ। शनिबार दिउँसो पहिरोले गाउँ पुरेपछि चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।
रोल्पाको थबाङ गाउँपालिका–५ उवास्थित कोटलबारामा पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन्। गाउँ नै पुरिएपछि मृतकका परिवारका सदस्यका लागि स्थानीयवासीसहित विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको छ। तर, त्यहाँ पुग्ने एक मात्र सडक भत्केर अवरुद्ध भएपछि राहत सामग्री गन्तव्यमा पुर्याउन सकिएको छैन।
रोल्पा सदरमुकाम लिबाङ, दाङसहितका स्थानबाट संकलन गरिएको राहत गन्तव्यमा पुर्याउन नसकिएको सहयोग संकलनकर्ताहरूले जनाएका छन्। सडक सुचारु हुन नसक्दा आफूहरूले पुर्याउन थालेको राहत सामग्री सुनछहरी गाउँपालिकाको फुलीवनमा छाडेर आएको लाइन्स क्लब रोल्पाका ज्ञानेन्द्र आचार्यले बताए। ‘सडक अवरुद्ध भएको र नियमित वर्षा भइरहेकाले फुलीवनभन्दा अगाडि पुग्न सकेनौं। हामीले त्यहीँ जनप्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेर फर्कियौं। राहत पुर्याउन पनि सुरक्षित अवस्था छैन,’ उनले भने।
नेपाल रेडक्रस सोसाइटी, रोल्पाली सेवा समाज र थबाङ गाउँपालिकाले केही राहत सामग्री कोटलबारामै पुर्याएका छन्। तर, धेरैजसो सामग्री उवातर्फका फुलीवन, पोबाङ र माबाङमा थुपारिएको छ। पीडितहरुका लागि खाद्यान्न र गैरखाद्य सामग्री जुटेको छ। सुलीचौरदेखि कोबाङसम्म गाडी चलिरहेको छ, तर त्यसभन्दा अगाडि पहिरो समस्याले बाटो अवरुद्ध छ। फुलीवनदेखि ठाउँठाउँमा पहिरो गएर बाटो पूरै अवरुद्ध छ। उवा जाने अर्को पैदल बाटो पनि सहज छैन। त्यहाँ जाने भीरको पैदल बाटोमा ढुंगा खस्ने समस्या भइरहेकाले आएको राहत सामग्री ठाउँठाउँमा रोकिएको थबाङ–५ उवाका कार्यवाहक वडाध्यक्ष बुद्धि घर्तीमगरले बताए।
स्थानीय प्रशासनले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्न निर्देशन गरे पनि सहयोगीहरूले समन्वय गर्न नसकेको गुनासो छ। वडा कार्यालयको समन्वयमा स्थानीय अगुवा अमर पुन संयोजक रहेको राहत वितरण समिति गठन गरिएको छ। वडा, पालिका र बाहिरबाट पठाइएको राहत सामग्रीको अभिलेखीकरण र वितरण गम्भीरतापूर्वक गरिएको छ।
पहिरो खसेपछिको निकै समय मृतकलाई पहिरोबाट निकाल्न र शवको पहिचान गर्न लागेकाले राहत वितरण कार्यमा ढिलाइ भएको स्थानीय अगुवाहरूले बताए। यसले विस्थापित परिवारलाई व्यवस्थापन गर्न र राहत वितरण कार्यमा झनै ढिलाइ भएको स्थानीयवासी ढुकमन रोकामगरले बताए।
सडक अवरुद्ध भएकाले पालिकाको केन्द्र थबाङ, सदरमुकाम लिबाङ र सुलिचौरबाट उवा पुग्न निकै कठिनाइ भएको छ। कोटलबारा पहिरोपछि पनि त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले काम गर्न समस्या देखिएको स्थानीय स्वास्थ्यकर्मी विमर्श घर्तीमगरले बताए। उनले पहिरोको त्रासले विस्थापित भएकाहरू बिरामी पर्ने र उनीहरूको स्वास्थ्य अवस्था जाँच्नुपर्ने नियमित जिम्मेवारी रहेको बताए।
सुनछहरीको सेरमस्थित ठूलो गाउँ र घुसबाङ क्षेत्रका बस्तीमा पनि घरभित्र बस्नाले सुरक्षित हुने अवस्था छैन। सुनछहरी–१ सेरमका वडाध्यक्ष धनीमन रोकाले आफ्नै परिवार घरबाट विस्थापित भएकाले सुरक्षित हुन त्यही उदाहरण वडावासीमा सुनाउने गरेको बताए।
जाजरकोटमा विस्थापितहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिमा मौज्दात राखिएका र विभिन्न संघसंस्थाले दिएका त्रिपाल, पिफर्म, टेन्टलगायत सामग्री वितरण गरिएको थियो। भेरी नगरपालिकाले आइतबार चाउचाउ, बिस्कुट, फ्रुटीलगायतका खानेकुरा वितरण गरेको थियो। सोमबार बिहान चामल, दाललगायत खाद्यान्न वितरण गरिएपछि मात्र तीन दिनपछि पेटभरि खान पाएको विस्थापित दलबहादुर कामीले बताए।
भूकम्पबाट ३ वर्षअघि घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका कामीको टहरा जोखिममा परेपछि ५ जनाको परिवारसहित त्रिभुवन आधारभूत विद्यालयमा बस्दै आएका छन्। ‘लगातारको पानीले बिजोग बनायो, त्रिपालले पानी नै छेक्दैन, आइतबार पनि रातभरि जाग्राम बस्यौं,’ उनले भने, ‘तलबाट पनि भल बगेर बस्नै हैरान भयो।’
पहिरोबाट विस्थापितहरूका लागि कर्णाली प्रदेश सरकारले आइतबार पठाएको राहत सामग्री सदरमुकाममै थन्किएपछि विस्थापितहरूको बिजोग भएको भेरी नगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्कीले बताए। ‘गाउँ आउने सडक पहिरोले अवरुद्ध भएपछि सुर्खेतबाट आएको राहत जिल्ला प्रहरी कार्यालयमा छ,’ उनले भने, ‘त्यो राहत आए विस्थापितलाई केही सहज हुन्थ्यो।’
कर्णाली प्रदेश सरकारले ४ क्विन्टल चामल, ५० किलो चिउरा, १ सय ५० थान त्रिपाल, २ रोल कालो प्लास्टिक, २ रोल पिफर्म, २० थान टेन्ट र १ सय ५० थान ब्लांकेट पठाएको थियो। प्रमुख जिल्ला अधिकारी अधिकारीले सोमबार दिनभरि वर्षा नरोकिएपछि राहत प्रभावित क्षेत्रमा पुर्याउन नसकिएको बताए। ‘हामी पनि त्यहाँ जान सकेनौ,’ उनले भने, ‘मंगलबार भरियामार्फत भए पनि राहत त्यहाँ पुर्याइनेछ।’
पहिरोबाट विस्थापित भइ त्रिभुवन आधारभूत विद्यालयमा बस्दै आएका प्रभावितहरूका लागि सोमबार कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। जसमा ८५ जना विस्थापितको स्वास्थ्य परीक्षण गरिएको र आवश्यक औषधि वितरण गरिएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले बताए।
यसैबीच, पहिरो प्रभावित ३० घरधुरीलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले त्रिपाल, भाँडाकुँडा, सरसफाइका सामग्री, ब्लांकेटलगायत अस्थायी बसोबासका लागि आवश्यक सामग्री वितरण गरेको छ। संस्थाले भेरी–२ रिसाङका १५ र भेरी–३ स्यालाका १५ गरी ३० घरधुरीलाई सोमबार ५ लाख ३४ हजारको राहत सामग्री वितरण गरेको हो।
