रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोले १२ जनाको ज्यान लियो। पहिरोमा बेपत्ता भएका ८० वर्षीय अजम्बर पुन मगरको शव शनिबार प्युठानको राप्ती नदीमा फेला परेको छ। एक नौ वर्षीय बालक अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका-२ ददेरीस्थित राप्ती नदीको बीच भागमा भेटिएको हो। मृतकका भतिजा सुशील पुनले शवको सनाखत गरेका छन्।
पहिरोमा थवाङ-५ निवासी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन्।
