कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दर्ता गर्न दिएको आदेशमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा कडा चुनौती दिएको छ।
सोमबारको बैठकमा रास्वपा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लको भूमिकामाथि प्रश्न उठाए।
सांसद न्यौपानेले ‘नियमापत्ति गर्दै’ न्यायाधीशको च्याम्बरबाट आदेश भएको भन्दै आपत्ति जनाए। उनले अदालतको मर्यादा र सीमा भए पनि कामु प्रधानन्यायाधीशको आदेश संविधानविपरीत रहेको जिकिर गरे।
न्यौपानेले प्रश्न गरे, ‘सर्वोच्चका कामु प्रधानन्यायाधीशको आदेश मिडियामा आएको छ, इजलास संयुक्त हो कि, एकल हो कि, पूर्ण इजलास हो? संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न?’
यस्तै, रास्वपा सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीठ भएका रिट दर्ता गर्न निर्देशन दिएको आरोप लगाइन्।
आकस्मिक समय लिएर बोल्दै बास्कोटाले भनिन्, ‘कामु प्रधानन्यायाधीश आफैंले डेलिगेसन बोलाएर दर्ता गर्ने आदेश दिनु कत्तिको न्यायोचित छ?’
उनले थप चुनौती दिँदै भनिन्, ‘कामु प्रधानन्यायाधीशले कानून दिवसको अवसरमा लडाइँ अझै बाँकी छ भन्नु भएको थियो। लडाइँ कोसित बाँकी हो? सत्तासित लडाइँ बाँकी रहेको भए र राजनीति गर्न खोजेको भए कोट खोलेर आउनु होला हामी तयार छौं।’
यसअघि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्ध दर्ता हुन आएका रिट दर्ता गर्न आदेश गरेकी थिइन्।
मल्ल सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहे पनि संवैधानिक परिषद्ले चौंथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज कुमार शर्मालाई भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
डा. शर्माको विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ र समितिले उजुरी आह्वान गरेको समयसीमा सोमबार सकिँदैछ।
