भोटेकोशी नदीको विनाशकारी बाढीले रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणले यो पुष्टि गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले २८ सरकारी भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एक पेट्रोल पम्प र १५०० निजी घरमा क्षति पुर्याएको छ। छ पक्की पुल, आठ बेलिब्रिज र १० झोलुङ्गे पुल पनि बगाएको छ।
भोटेकोशी, त्रिशूली नदी र लाङ्टाङ खोलामा निर्माणाधीन आठ जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त भएका छन्। क्षति पुगेका आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली ३ ‘बी’ रहेका छन्।
जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएका छन्। दक्षिण कोरिया, भारत र चीनका विज्ञहरू पनि प्रभावित क्षेत्रमा पुगेका छन्।
हालसम्म बाढीमा परी १३६५ रसुवाली नागरिक, ११६० अन्य जिल्लाका नागरिक र २६४ पर्यटक सम्पर्कविहीन भएका छन्। २६ बैंक कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना पनि बेपत्ता छन्।
प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ।
