सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित दशगजा नजिक प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। बिहान करिब ४ बजे कपडा तस्करीमा संलग्न समूहले प्रहरीमाथि लाठी प्रहार गरेको हो।
सीमा स्तम्भ नम्बर २४३ नजिक भइरहेको तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि आक्रमण भएको थियो। यस घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको छ।
तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप छ। घटनापछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गरेका छन्। उनले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बताए।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि प्रहरी परिचालन गरिएको छ। थप बुझ्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको कार्यालयले जनाएको छ।
