NM Khabar 8 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्लाहीका दुई दर्जन होटलमाथि मन्त्री महतोको कारवाही: अखाद्य वस्तु बिक्रीमा लाखौं जरिवाना

मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले गृहजिल्ला सर्लाहीमा दुई दर्जनभन्दा बढी होटल तथा खाजा घरमाथि कारवाही गरेका छन्। अनुगमनका क्रममा गुणस्तरहीन खाना, अस्वस्थकर तेल र अखाद्य वस्तु बिक्री गर्ने होटलहरूमाथि लाखौं रुपैयाँ जरिवाना गरिएको छ।
Kamala Devi
Kamala Devi
8 July 2026, 7:39 pm १ मिनेट पढाइ
आकार:
अखाद्य वस्तु सर्लाही कारवाही
Share:

गृहजिल्ला सर्लाहीमा मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले दुई दर्जनभन्दा बढी होटल तथा खाजा घरमाथि कारवाही गरेका छन्।

मन्त्री महतोले मङ्गलबार र बुधबार लालबन्दी, हरिवन, नयाँरोड, बागमती, बरहथवा र सदरमुकाम मलंगवामा स्थानीय प्रशासन, प्रहरी र प्राविधिक टोलीसहित होटलहरूको अनुगमन गरेका थिए।

अनुगमनका क्रममा खानाको गुणस्तर, खानेतेल, सरसफाइ, बिलबिजक, व्यवसाय दर्ता र नवीकरणको अवस्था जाँच गरिएको थियो। चार दर्जनभन्दा बढी होटलको निरीक्षण गर्दा दुई दर्जनभन्दा बढी कारवाहीमा परेको अनुगमन टोलीले जनाएको छ।

म्याद नाघेका खाद्य पदार्थ बिक्री वितरण गर्ने, गुणस्तरहीन खाना पकाउने र भान्सामा सरसफाइमा ध्यान नदिने होटलहरूमाथि कारवाही गरिएको मन्त्री महतोले बताए। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गतिविधि भेटिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार, अस्वस्थकर तेल, अखाद्य सामग्री र कुहिन थालेका तरकारी तत्काल नष्ट गर्न लगाइएको छ। व्यवसाय दर्ता नगरेका वा नवीकरण नभएका होटलहरूलाई एक पटकका लागि सचेत गराएर छाडिएको छ।

नागरिकको स्वास्थ्य सुरक्षा सरकारको दायित्व भएको मन्त्री महतोले बताए। होटलमा गुणस्तरीय र सुरक्षित खानाको अपेक्षासहित पुग्ने सेवाग्राहीमाथि हुने यस्तो लापरवाही स्वीकार्य नहुने उनको भनाइ थियो।

गुणस्तरहीन खाना, सरसफाइको अभाव र अस्वस्थकर तेलको प्रयोग जस्ता गम्भीर लापरवाही भेटिएकालाई एक लाख रुपैयाँसम्म जरिवाना गरिएको छ। सरसफाइ र म्याद नाघेका वस्तु फेला परेकालाई १५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गरी छाडिएको छ।

मापदण्ड पालना नगरे वा अस्वस्थकर खानेकुरा भेटिए त्यस्ता होटल तथा खाजा घरलाई सिल गरिने चेतावनी पनि मन्त्री महतोले दिए।

सडेगलेका खानेकुरा खाएर मधेशका जनता बिमारीको सिकार हुन थालेपछि अनुगमनलाई तीव्र पारिएको मन्त्री महतोले बताए। क्यान्सर जस्ता घातक रोग लाग्न सक्ने भएकाले अनुगमन कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार