सर्लाहीको पर्सा गाउँपालिका-१ सितलपुर टोल नजिक नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा एक पुरुष मृत फेला परेका छन्। मंगलबार दिउँसो करिब ३:१० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरको गस्ती टोलीले अन्दाजी ४५ देखि ५० वर्ष उमेरका ती पुरुषलाई बाटो छेउमा फेला पारेको हो।
हालसम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल सुरक्षित पारेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको कमान्डमा टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ ५:५० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
मृतकको हातमा ‘जगन राउत’ लेखिएको बाला भेटिएको छ। खल्तीबाट १० भारतीय रुपैयाँको नोट र २ रुपैयाँको सिक्का बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
