नेकपा एमालेका महासचिव शंकर पोखरेलले बन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने बताएका छन्। मानव बस्तीलाई उठिबास लगाउने बन्यजन्तु संरक्षण न्यायोचित नहुने उनको भनाइ छ।
संसदमा समेत उठिरहेको बाँदर, बँदेल र दुम्सीले बालीनाली सखाप पारेर किसानलाई विस्थापित बनाएको विषयमा पोखरेलले सामाजिक सञ्जालमार्फत धारणा राखे। अन्तर्राष्ट्रिय सन्धि र कानुनको बहानामा किसानलाई उब्जाउ भूमिबाट बेदखल गर्ने काम अन्यायपूर्ण भएको उनले स्पष्ट पारे।
प्रकृति र मानवबीच सन्तुलन आवश्यक छ। तर, त्यसले मानवको उठिबास लगाउन नहुने पोखरेलको तर्क छ। ‘बाँदर, बँदेल र दुम्सीको आतंकले कृषिकर्ममा आश्रित किसानहरु विस्थापित भइरहेका छन्,’ पोखरेलले लेखे, ‘प्रकृति र मानवबीच सन्तुलन चाहिन्छ तर मान्छेकै उठिबास लाग्ने गरी होइन।’
पोखरेलले संरक्षण क्षेत्रभित्र नै सबै पशुपंक्षीको संरक्षण गरिनुपर्ने र आवश्यकताअनुसार संरक्षण क्षेत्र विस्तार गर्न सकिने राय दिए। बन्यजन्तुबाट बाली जोगाउन कृषि क्षेत्रका लागि छुट्टै नीति आवश्यक रहेको उनले उल्लेख गरे।
वन्यजन्तुको आतङ्कबाट कृषि उत्पादन र किसानलाई संरक्षण गर्न उनले आह्वान गरे। ‘कृषि उत्पादन र किसानका लागि संरक्षणकारी नीति र कानुन निर्माण गरौं,’ पोखरेलले भने, ‘अब त निकै ढिला भइसक्यो।’
