शंखमुलको भ्याली होस्टलमा २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेकामा होस्टलका दुई बासिन्दा र एक सञ्चालक छन्। उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थपिएको छ।
दाङका कालाथोकीमाथि गत ५ भदौको बिहान करिब १० बजे चक्कु प्रहार भएको थियो। उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले बाराका १९ वर्षीय शेखर यादव, १९ वर्षीय प्रमित पटेल र होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई पक्राउ गरेको हो। यादव र पटेल उक्त होस्टलमा बस्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
