शेयर बजारमा लगातारको गिरावट र लगानीकर्ताको घट्दो आत्मविश्वासलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार सुधारका लागि सक्रियता बढाएका छन्। सोमबार सिंहदरबारमा धितोपत्र बजारका नियामक, ब्रोकर र लगानीकर्ता प्रतिनिधिसँगको छलफलमा उनले बजार सुधारका उपायबारे चासो व्यक्त गरे।
ब्रोकर र लगानीकर्ता प्रतिनिधिले बजारमा तरलता र कारोबार विस्तारका लागि इन्ट्रा–डे ट्रेडिङ र सर्ट सेल छिटो लागू गर्नुपर्ने माग गरे। उनीहरूले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग सम्बन्धित नीतिगत तथा प्राविधिक सुधारका विषय उठाए। नयाँ सूचीकृत कम्पनीको शेयर कारोबार प्रणाली, मूल्य निर्धारण र बजारमा वास्तविक माग–आपूर्ति कायम गर्ने विषयमा समेत छलफल भयो।
बैठकमा बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा गरेको लगानी लामो समयसम्म बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग उठ्यो। ब्रोकरमार्फत लगानीकर्तालाई सहज मार्जिन कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइयो।
त्यस्तै, पूँजीगत लाभकर गणना प्रणालीमा रहेको अस्पष्टता हटाउनुपर्ने विषय छलफलमा आयो। लगानीकर्ताले नाफा–घाटा समायोजन नगरी कर निर्धारण गर्दा बजारमा नकारात्मक प्रभाव परेको भन्दै कर प्रणालीलाई स्पष्ट र व्यवहारिक बनाउनुपर्ने सुझाव दिए।
प्रधानमन्त्री शाहले नियामक निकायका प्रमुखहरूसँग बजार सुधारमा ढिलाइको कारणबारे सोधे। उनले इन्ट्रा–डे र सर्ट सेलजस्ता आधुनिक उपकरण सञ्चालनमा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधान गर्न निर्देशन दिए।
प्रधानमन्त्रीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तथा निजीकरण प्रक्रियालाई गति दिन निर्देशन दिए। नेप्सेलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउने विषयमा समेत छलफल भएको छ।
संस्थागत लगानीकर्ताको सहभागिता बढाउन सञ्चय कोष, नागरिक लगानी कोष र बीमा कम्पनीलाई शेयर बजारमा लगानी बढाउने वातावरण बनाउनुपर्ने विषय उठ्यो। गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा सहभागी गराउने आवश्यक व्यवस्था गर्नुपर्ने माग पनि राखियो।
प्रधानमन्त्रीको पहलपछि शेयर बजार सुधारमा सकारात्मक निर्णय आउने अपेक्षा लगानीकर्ता र ब्रोकरले गरेका छन्। छलफलमा सहभागीहरूले सरकारले पूँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र मानेर सुधार प्रक्रिया अघि बढाउने संकेत देखिएको बताए।
