बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले प्रहरीको गम्भीर लापरबाही उजागर गरेको छ। आक्रोशित स्थानीयवासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका हुन्। प्रदर्शनकारीहरूको मुख्य माग घटनाको अनुसन्धानमा लापरबाही गर्ने इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नु हो।
बालिकाका बुबाले साउन ३१ गते नै प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले सुरुवाती चरणमा खोजीकार्यलाई तीव्रता नदिएको र अनुसन्धानमा चासो नदेखाएको आरोप छ। समयमै प्रहरी सक्रिय भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने दाबी प्रदर्शनकारीहरूको छ। उनीहरूले डीएसपी क्षेत्रीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखेका छन्।
वीरगञ्ज–पथलैया सडकखण्ड बालिकाको शव फेला परेपछि बुधबार दिउँसोदेखि अवरुद्ध छ। आन्दोलनरत स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिकाका विभिन्न ग्रामीण सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प छ। सडक अवरोधले यात्रुहरू अलपत्र परेका छन्।
जघन्य अपराधको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोकसभा गरी शिक्षण संस्था बन्द गरेका छन्। विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अवोध बालिकामाथि भएको क्रूर घटनाले शैक्षिक क्षेत्र स्तब्ध भएको जनाएका छन्। दोषीलाई हदैसम्मको कारबाही र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनामा संलग्न दुई जना पक्राउ परिसकेको जानकारी दिए। प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो। प्रजिअ मिश्रले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिए। स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही र बालबालिकाको सुरक्षाको भरपर्दो सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सिमरा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।
