सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ, तीन जना बेपत्ता छन्। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्।
२०८३ कार्तिक १ गते राति २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी बिजय श्रेष्ठका अनुसार घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो। उनीहरूको सनाखत हुन सकेको छैन।
प्रहरीले चालकसहित चार जनालाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाएको छ। घाइतेहरूमा ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष बिष्ट बेहोस अवस्थामा छन्।
खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर छ। उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक बोल्न सक्ने अवस्थामा छन्।
चालकको प्रारम्भिक भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। बेपत्ताहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरिएको छ।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले सुमो सुनकोशीमा आधा डुबेको अवस्थामा देखिएको जानकारी दिए। उनका अनुसार प्रहरीसहित स्थानीय पनि खोज तथा उद्धारमा जुटेका छन्।
दुर्घटनाको कारण अझै खुल्न बाँकी छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
