सिरहाको औरही गाउँपालिका ४ इट्टाटार सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ। यो गाँजा भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएका हुन्। उनीहरूले टाउकोमा गाँजा बोकिरहेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाले सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न गस्ती र निगरानी थप प्रभावकारी बनाइएको बताए।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रक्रिया अघि बढाइएको छ।
