सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी, व्यापारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले जिरोमाइल चौकमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले छोटी भन्सार खारेजीको निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन्।
नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। यस निर्णयको विरोधमा स्थानीय आन्दोलित बनेका हुन्। यसअघि २५ देखि २७ वैशाखसम्म पनि उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए।
प्रदर्शनका कारण पूर्व-पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। प्रदर्शनकारीहरूको मुख्य माग छोटी भन्सार पुनःस्थापना गर्नु रहेको छ। यसका लागि उनीहरूले छोटी भन्सार पुनःस्थापना संघर्ष समिति समेत गठन गरेका छन्।
