NM Khabar 5 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहामा प्रहरीको गोली लागेर भारतीय लागुऔषध कारोबारी पक्राउ

सिरहाको नवराजपुरमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप भएको छ। प्रहरीको गोली लागेर भारतका अब्दुल कलाम घाइते अवस्थामा पक्राउ परेका छन्। घटनास्थलबाट १ सय २२ ग्राम ब्राउन सुगर र कटुवा पेस्तोल बरामद भएको छ।
Kamala Devi
Kamala Devi
4 July 2026, 7:47 am १ मिनेट पढाइ
आकार:
सिरहा लागुऔषध कारोबारी
Share:

सिरहाको नवराजपुर गाउँपालिका–५ को सीमावर्ती क्षेत्रमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा भारतका अब्दुल कलाम प्रहरीको गोली लागेर घाइते भएका छन्।

ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको टोली सीमा क्षेत्रमा पुगेको थियो। सो क्रममा हातहतियारसहित बसेका ३-४ जनाको समूहले प्रहरीमाथि गोली चलाएको थियो।

प्रहरीले जवाफी कारबाहीमा दुई राउन्ड गोली चलाउँदा भारतको मधुवनीका अब्दुल कलाम खुट्टामा घाइते भई ढलेका थिए। मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी ओम अधिकारीका अनुसार, घाइते कलाम नै लागुऔषधका मुख्य कारोबारी हुन्।

प्रारम्भिक अनुसन्धानमा कलाम समूहले भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा ब्राउन सुगर तस्करी गर्ने गरेको खुलेको छ। प्रहरीले घटनास्थलबाट १ सय २२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ।

रातोपाटीका अनुसार, प्रहरीले घटनास्थलभट दुई थान भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि बरामद गरेको छ। घटनामा संलग्न अन्य तीन जना भने दुई मोटरसाइकलमा आएर भारततर्फ भागेका थिए।

घाइते कलामको प्रादेशिक अस्पताल सिरहामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार