सिराहाको बलान खोला क्षेत्रबाट प्रहरीले ५३ किलो ४६५ ग्राम गाँजा बरामद गरेको छ। सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा राति गस्तीमा खटिएको टोलीले उक्त लागूऔषध फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार राति करिब ११:५० बजे इलाका प्रहरी कार्यालय महेशवारीको टोलीले शंकास्पद ४ वटा बोरा फेला पारेको थियो। प्रहरीलाई देख्नासाथ ४ जना व्यक्ति बोरा फालेर फरार भएका थिए।
प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा बोराभित्र गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। तौल गर्दा ५३ किलो ४६५ ग्राम रहेको पुष्टि भएको छ। फरार तस्करहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
