सिराहा प्रशासनले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थी आन्दोलित भएका छन्। गत चैत र वैशाखमा सम्पन्न एसइई र कक्षा १२ को परीक्षामा बरामद गरिएका उपकरणहरूलाई प्रशासनले काम नलाग्ने बनाएको हो।
नष्ट गरिएका सामग्रीमा ७ आईफोन, ४८९ एन्ड्रोइड फोन र ५ स्मार्ट घडी थिए। यी सामग्रीको बजार मूल्य करिब १ करोड रुपैयाँभन्दा बढी रहेको अनुमान छ।
प्रशासनको यस कदमको चौतर्फी आलोचना भइरहेको छ। संयुक्त विद्यार्थी संगठनले कडा विरोधको कार्यक्रम सार्वजनिक गरेको छ। संगठनले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य माग राखेको छ।
आगामी जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरिएको छ। विद्यार्थीको सम्पत्तिमाथि दमन भएको र कानुनविपरीत करोडौँको सम्पत्ति नष्ट गरिएको भन्दै संगठनले न्याय र क्षतिपूर्तिको माग गरेको छ।
प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र उपकरणको दुरुपयोग रोक्न नष्ट गरिएको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पाँच सदस्यीय उपसमितिको निर्णयबमोजिम मोबाइल २४ घण्टा पानीमा डुबाएर र फुटाएर नष्ट गरिएको हो।
प्रशासनले कानुनतः लिलामी गर्न सकिने विकल्प हुँदाहुँदै सुरक्षा र गोपनीयताको कारण देखाउँदै उपकरण नष्ट गर्ने विवादास्पद बाटो रोजेको थियो। अभिभावक र कानुन व्यवसायीहरूले यस निर्णयलाई ‘कानुनी अराजकता’ को संज्ञा दिएका छन्।
