लिखुपिके गाउँपालिकाको जङ्गलमा बाटो भुलेर हराएका २१ वर्षीय जर्मन नागरिक एलियास वेन्डशूहको सकुशल उद्धार गरिएको छ। पिके पिक घुमेर जिरीका लागि हिँडेका वेन्डशूह जेठ १७ गते बिहान लिखुपिके–५ किन्जा क्षेत्रको ठूलो भिर र जङ्गलमा अलपत्र परेका थिए।
हराएका वेन्डशूहले जेठ १८ गते बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ह्वाट्सएपमार्फत आफू हराएको सूचना दिएका थिए। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय, अस्थायी प्रहरी चौकी गोली, किन्जा र चौलाखर्कबाट प्रहरी टोली परिचालन गरियो। प्रहरीसँगै स्थानीय जनप्रतिनिधि र बासिन्दा पनि खोजतलासमा जुटेका थिए।
निरन्तरको प्रयासपछि प्रहरी, जनप्रतिनिधि र स्थानीयले जेठ १८ गते दिउँसो २ बजे लिखुपिके–१ टाङ्बुचे जङ्गलमा वेन्डशूहलाई फेला पारे। सोलुखुम्बु प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले वेन्डशूहलाई सकुशल उद्धार गरी किन्जा प्रहरी चौकीतर्फ ल्याउने कार्य भइरहेको बताए।
