काठमाडौंको मुटुमा १५ करोडको सरकारी जग्गा माफियाले कब्जा गरेको खुलासा भएको छ। यो तथ्यले सरकारी सम्पत्ति संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियानको शुभारम्भ गरियो। ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने नारासहित सुरु भएको यो अभियानले देशभरका शैक्षिक संस्थासम्म विस्तार गर्ने आयोजकले जनाएको छ।
यो अभियानको मुख्य लक्ष्य नेपालमा बढ्दो युवा पलायन रोक्नु हो। सिर्जनशील जनशक्तिलाई स्वदेशमै अवसर उपलब्ध गराउने यसको उद्देश्य छ। यसबाट स्टार्टअप दर्ता, व्यवसाय योजना, लगानी व्यवस्थापन, र बजार विस्तारबारे व्यवहारिक ज्ञान दिइनेछ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारीसँगै उद्यमशीलतासँग जोड्नुपर्ने बताए। उनले देशभर यस्ता कार्यक्रम विस्तार गर्न विश्वविद्यालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालको प्रतिभा र सिर्जनशीलता स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनु अभियानको उद्देश्य रहेको बताइन्। उनले युवाले विदेशमा अवसर खोज्नुभन्दा नेपालमै सिर्जना गर्ने सोच विकास गर्नुपर्ने समय आएको बताइन्।
ज्ञवालीले भनिन्, ‘हाम्रो ठूलो चुनौती ब्रेन ड्रेन हो। यसलाई ब्रेन गेनमा रूपान्तरण गर्नुपर्छ। नेपालमा प्रतिभाको कमी छैन, आवश्यक छ सही सोच, मार्गदर्शन र अवसर।’
उनले समिट सातै प्रदेश र ७७ जिल्लामा विस्तार गर्ने योजना रहेको जानकारी दिइन्। विश्वविद्यालय, कलेज, विद्यालय, सरकारी निकाय, निजी क्षेत्र र वित्तीय संस्थासँग सहकार्य गरी राष्ट्रिय स्टार्टअप इकोसिस्टम निर्माण गरिनेछ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायका लागि लगानीभन्दा सही सोच, योजना र निरन्तर प्रयास आवश्यक हुने बताए। उनले कम्पनी दर्ता, कानुनी प्रक्रिया, बजार अध्ययन र कर्जा व्यवस्थापनबारे प्रस्तुति दिए।
कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमीका अनुभव र वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गरेकाहरूको प्रेरणादायी कथा प्रस्तुत गरियो। विद्यार्थीहरूले उद्यमशीलता, लगानी र सरकारी नीतिबारे जिज्ञासा राखे।
‘स्टार्टअप समिट नेपाल–२०२६’ दीर्घकालीन राष्ट्रिय अभियान हुनेछ। यसले सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, बैंक र लगानीकर्ताबीच सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ।
