सुडानमा सर्वसाधारण चढेका सवारीसाधनमाथि भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेका सर्वसाधारण चढेको सवारीसाधनमा भएको आक्रमणमा एउटै परिवारका पाँच महिलासहित १० जनाको ज्यान गएको छ।
चिकित्सा सहायता समूह सुडान डक्टर्स नेटवर्कले उक्त आक्रमणका लागि अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई जिम्मेवार ठहर गरेको छ। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको थियो। सुडान डक्टर्स नेटवर्कले सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आग्रह गरेको छ।
यसैबीच, अधिकारवादी संस्था ‘इमर्जेन्सी लयर्स’का अनुसार मङ्गलबार नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको थियो। त्यसको अघिल्लो दिन सोही प्रान्तको अल–शातउट क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमाथि ड्रोन प्रहार हुँदा पाँच महिलासहित १३ जनाको ज्यान गएको थियो।
‘इमर्जेन्सी लयर्स’ले सर्वसाधारणलाई लक्षित ड्रोन आक्रमण पछिल्लो समय बढ्दै गएको जनाएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार नर्थ कोर्डोफान क्षेत्रमा भएका ड्रोन आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय क्षेत्र, पुल तथा आपूर्ति मार्गमा क्षति पुगेको छ।
सुडानमा सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच सन् २०२३ को अप्रिलदेखि जारी द्वन्द्वमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भएको छ। करिब एक करोड ३० लाख मानिस विस्थापित भएका छन्। तीन करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
