सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार, भट्टले बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत बाढीपहिरोले पुर्याएको क्षति र अवस्थाबारे जानकारी लिएका थिए।
उनले बैतडीको ढोल्यामोडलगायतका बाढी प्रभावित क्षेत्र र सडक अवरुद्ध भएको विषयमा समेत जानकारी लिएका छन्।
मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्रालयलाई आवश्यक स्रोतसाधन परिचालन गरी दुवै जिल्लामा अवरुद्ध सडक तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन्।
उनले विपद्बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउँदै उद्धार, राहत र सडक सञ्चालनका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
