सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले काठमाडौंमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति गगन थापासँग सरकारबारे शीघ्र निर्णय माग गरेका छन्। शाहले भक्तपुरस्थित गुण्डु पुगेर ओली र कांग्रेस सभापति गगनकुमार थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
मुख्यमन्त्री शाहले दुवै नेतासँग प्रदेश सरकारबारे शीघ्र निर्णय दिन आग्रह गरेको शाह निकट स्रोतले जनायो। स्रोतका अनुसार, ओलीले नेकपालाई समेत मिलाएर प्रदेश सरकारमा सामेल गराउनेबारे छलफल भइरहेको बताएका थिए। थापाले पनि सबै दलबीच कुरा भइरहेको जानकारी दिए।
यसअघि कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा कांग्रेस र कोशीमा एमालेले पूरा अवधि सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए। तर, थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नतोड्ने तर सरकारको नेतृत्व परिवर्तन वा मन्त्री हेरफेर गर्ने रणनीति लिएका छन्।
थापाले उपसभापति विश्वप्रकाश शर्मालाई एमालेसहितका दलसँग प्रदेश सरकारका विषयमा छलफल गर्ने अधिकार दिएका छन्। शर्माले कर्णाली र सुदूरपश्चिमको प्रदेशस्तरीय भेला सकेर काठमाडौँ फर्केपछि ओलीसँग एक चरणमा छलफल गरिसकेका छन्।
शर्माले ओलीसँग कोशी प्रदेश कांग्रेसलाई दिनुपर्ने र सुदूरपश्चिम एमालेलाई छाड्ने प्रस्ताव गरेको नेताहरू बताउँछन्। यद्यपि, ओलीले यसमा स्पष्ट जवाफ दिइनसकेको दाबी छ। एमालेका केही नेताहरू ओली मुख्यमन्त्री हिम्मत कार्कीप्रति सन्तुष्ट नरहेकाले कोशी कांग्रेसलाई छाड्न सक्ने तर्क गर्छन्।
यद्यपि, नेकपासँग समेत संवादमा रहेका ओलीले तीनवटै पार्टी मिलेर अघि बढ्नुपर्ने अवस्था आए फरक निर्णय हुन सक्ने आकलन छ। मुख्यमन्त्री शाहले बजेटअघि सत्ता परिवर्तन नगर्न आग्रह गरेको बताइन्छ। एमाले र कांग्रेसबाट सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सत्ता जोगाउन लबिङ गरिरहेका छन्।
एमालेमा महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि अहिले सरकार परिवर्तनको पक्षमा नरहेकाले ओली एक्लैले निर्णय लिन नसक्ने अवस्था बनेको नेताहरू बताउँछन्।
२६ वैशाखमा धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री शाहले आफूलाई पदमुक्त गर्न लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनले सभापति थापालाई समेत बदनाम गर्नेगरी प्रदेशका सांसद र नेताहरू लागेको आरोप लगाएका थिए।
सोही साँझ थापाले प्रदेशका सबै सांसदसँग गरेको छलफलमा मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा कुरा उठेको थियो। शाहलाई पदमुक्त गर्नुपर्ने पक्षमा ८ जना प्रदेश सांसदले हस्ताक्षर नै गरिसकेको दाबी गरिन्छ, तर पार्टी नेतृत्वको संकेत नपाएपछि उनीहरू रोकिएका थिए। दिवान सिंह बिष्ट र पदम शाहीहरूले यो अभियान चलाइरहेका थिए।
अहिले तत्काल एमाले र कांग्रेसकै समीकरणले निरन्तरता पाउने सम्भावना देखिए पनि, छलफलले सार्थकता पाए सुदूरपश्चिम एमालेले पाउने सम्भावना छ। नेकपाका सांसदहरू पनि तीनवटै पार्टी मिलेर अघि बढ्ने कुरामा सघन छलफल चलिरहेको बताउँछन्, तर ठोस निर्णय भइसकेको छैन।
यद्यपि, आपसी परामर्शपछि दुई/तीन दिनभित्र प्रदेश सरकारबारे निर्णय हुने संकेत नेताहरूले गरेका छन्।
