सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि नीतिगत बहस थाल्दै, कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदैछ।
सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा हुन लागेको यो कार्यक्रम आइतबारसम्म चल्नेछ।
फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यसको उद्घाटन गर्ने तय भएको छ।
अध्यक्ष शेरबहादुर शाहीले यो कचहरीले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने विश्वास व्यक्त गरे। यसले प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उनको भनाइ छ।
दुई दिनसम्म चल्ने कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा नीतिगत बहस हुनेछ। यसबाट साझा विकास दृष्टिकोण तयार पारिने अध्यक्ष शाहीले बताए।
बहसबाट निस्किएका निष्कर्ष तथा सुझावहरूलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइने अध्यक्ष शाहीले जानकारी दिएका छन्।
