सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण र तत्कालीन गृहमन्त्रीको शेयर कनेक्सनबारे व्यापक प्रश्न उठेपछि ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको नेपाली कांग्रेसका सभापति गगन थापाले आरोप लगाएका छन्।
शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन टेबल संवाद कार्यक्रममा सभापति थापाले यो आरोप लगाएका हुन्। प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि व्यापक प्रश्न उठेको र सोही समयमा गृहमन्त्रीको विभिन्न कनेक्सनको कुरा बाहिर आएर राजीनामा दिने अवस्था सिर्जना भएको थापाले उल्लेख गरे। थापाले यो घटनालाई अमेरिकामा राष्ट्रपति क्लिन्टनको कार्यकालमा महिलासँगको सम्बन्धको विषयबाट ध्यान मोड्न क्रुज मिसाइल प्रहार गरिएको उदाहरणसँग तुलना गर्दै भने, ‘ध्यान मोड्न एकैपटक डोजर चलाउने कुरा आयो, आज सिंगो देश यो विषयमा छलफल भएको छ, त्यो विषय हरायो। नेपालको मिडिया, सार्वजनिक विमर्शमा डिस्ट्र्याक्सन भयो।’
थापाले सरकारले सुकुम्बासी बस्तीमाथि ‘बर्बरतापूर्वक हमला’ गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले सरकारको यो क्रुरता र बर्बरतापछि पनि सत्तामा रहेकाहरूले ‘कम्फरटेबल फिल’ गरेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको बताए। थापाले राज्य चलाउँदै गर्दा करुणा, न्याय र विवेक हुनुपर्नेमा सरकारले बल प्रयोग गर्दा नागरिकका पीडालाई समेत बेवास्ता गरेकोमा आक्रोश व्यक्त गरे। उनले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरूलाई सरकारको बर्बरताविरुद्ध प्रतिवाद गर्न सचेत गराएका छन्।
थापाले ‘नयाँ पुस्ताका मानिसहरूलाई सबै अपराधी हुन्, सबैजना जग्गा कब्जा गरेर बसेका हुन्’ भन्ने खालको गलत भाष्य चिर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्रीहरूको सम्पत्ति विवरण र गृहमन्त्रीको कनेक्सनजस्ता गम्भीर प्रश्नहरूबाट ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको भन्ने आरोपमाथि अब कसले जवाफदेही लिने?
