राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी घटनाबारे छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित भएका छन्। यसले सरकारको चासो र भूमिकामाथि प्रश्न उठाएको छ।
रास्वपाका सभापति रवि लामिछानेले बोलाएको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति दलहरूले असन्तुष्टि जनाएका छन्। सुनसरीको देवानगञ्ज घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको भूमिकामाथि विभिन्न दलहरूले प्रश्न उठाउँदै आएका छन्। बैठकमा रास्वपाका नेताहरूसँगै नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल र राप्रपाका अध्यक्षलगायतका नेताहरूको उपस्थिति थियो।
बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दलका नेताहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेका छन्। उनीहरूले देशमा यति ठूलो संकट उत्पन्न हुँदासमेत प्रधानमन्त्री बालेन शाह र उनको नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।
नेकपा (माओवादी केन्द्र)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो संवेदनशीलताको घडीमा सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न जोड दिए। उनले विगतका विपद् र संविधान निर्माणजस्ता जटिल प्रक्रियामा जस्तै राष्ट्रिय एकता र साझा सहमतिको आवश्यकता रहेको बताए।
प्रचण्डले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्दै प्रश्न उठाए। उनले सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गर्दै बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान नहुने र संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने बताए। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनले यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने भएको उल्लेख गरे।
नेपाली कांग्रेसका सभापति गगन थापाले समयमै सर्वदलीय बैठक बोलाएर पहलकदमी लिएको भन्दै रास्वपा र सभापति रवि लामिछानेप्रति आभार व्यक्त गरे। उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएको बताए। कांग्रेसले आफ्ना स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई संयमता अपनाउन र सद्भावको सन्देश फैलाउन निर्देशन दिइसकेको जानकारी दिए।
थापाले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि कडा प्रश्न उठाउँदै भने, ‘यतिखेर सरकार के गर्दैछ? सरकार कहाँ छ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्र भेटिनु हुन्न। र सरकार यथास्थितिमा मात्र सीमित रहनु हुन्न।’ उनले प्रधानमन्त्रीले यस्तो बेलामा पनि भाउ खाएर बस्ने कि सबैलाई जोड्ने प्रयास गर्ने भन्दै प्रश्न गरे।
उनले मधेसमा हुने यस्ता घटनामा राज्यले सधैँ अतिरिक्त बल प्रयोग गर्ने मानसिकताप्रति सचेत गराउँदै यसलाई राज्यको असफलताको निरन्तरता भने। यद्यपि, वर्तमान सङ्कटको घडीमा सरकारलाई अप्ठ्यारो नपारी सहयोग गर्न कांग्रेस तयार रहेको उनले प्रस्ट पारे। पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएकाले आफू निस्किएको र बैठकमा कांग्रेसका तर्फबाट उपसभापति विश्वप्रकाश शर्मा सहभागी भई थप छलफल गरिरहेको थापाले जानकारी दिए।
बैठकमा सहभागी दलहरूले सुनसरीलगायत सम्भावित प्रभावित क्षेत्रमा पूर्वसतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासहरूलाई अगाडि बढाउन साझा सहमति जनाएका छन्।
