सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।
प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत् छ। घटनाको छानबिन गर्न गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गरेका छन्। उनीहरूले मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेका छन्।
सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।
यसैबीच, १३ साउनमा काठमाडौंमा सम्पन्न सुरक्षा निकायका प्रमुखहरूको बैठकमा गृहमन्त्री सुधन गुरुङलाई सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्ज घटनालाई अब सुरक्षा चुकको विषयमा मात्रै केन्द्रीत गरेर समाधान नहुने निष्कर्ष सुनाइएको थियो। सुरक्षा निकायका प्रमुखहरूले घटनालाई सुरक्षाका हिसाबले मात्रै नभई राजनीतिक, सामाजिक र धार्मिक कोणबाट पनि हल खोजिनुपर्ने सुझाव दिएका थिए।
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिलगायतको उपस्थितिमा गृहमन्त्री गुरुङलाई यसबारे ब्रिफिङ गरिएको थियो। सुरक्षा निकायले प्रष्ट रुपमा भनेका थिए, ‘सुरक्षाकर्मी मात्रै थपेर समाधान हुन गाह्रो छ। यसलाई सामाजिक, धार्मिक, राजनीतिक माध्यमबाट सद्भाव कायम राख्ने प्रयास गरिनुपर्छ।’
यसअघि सिंहदरबारमा मान्छेको ज्यानको मूल्य नहुने जस्ता भाष्य निर्माण भएकाले तोडफोड र आगजनी हुनसक्नेतर्फ समेत संकेत गरिएको थियो। सुरक्षा निकायले यी सबै विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराएका थिए।
सुरक्षाकर्मी मात्रै परिचालन गरेर नहुने र यसलाई ‘सेफ साइड’मा लैजान राजनीतिक दलहरू नै अग्रसर हुनुपर्ने सन्देश सुरक्षा निकायले दिएको थियो। ढिलो भएमा अन्य जिल्लाहरूमा पनि हिंसा भड्किने जोखिम हुनसक्नेतर्फ संकेत गर्दै राजनीतिक पहलकदमी लिन सरकारलाई सुरक्षा संयन्त्रले सुझाव दिएका थिए।
गृहमन्त्री गुरुङले पनि यसलाई मनन गरेको बताएका थिए।
यही ब्रिफिङपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। संसदमा प्रतिनिधित्व गर्ने दलहरू बाहेक उपेन्द्र यादव, सीके राउत, महन्थ ठाकुरलगायतलाई बैठकमा डाकिएको थियो। बुधबार बिहान सर्वदलीय बैठक समेत बसिसकेको छ।
सुरक्षा निकायले असन्तुष्ट विषयहरूको राजनीतिक सम्बोधन गरिनुपर्नेबारे पनि सुझाव दिएका थिए। ‘अहिले पनि थुप्रै असन्तुष्टिका स्वरहरू सुनिन्छन्। तिनीहरूलाई सुरक्षा संयन्त्रबाट भन्दा पनि राजनीतिक हल खोज्नु उपयुक्त हुनेबारे पनि हामीले भनेका छौं,’ एक सुरक्षा अधिकारीले बताए।
यता, देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्यु भएको थियो। एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डीजे बजाएको विषयमा विवाद हुँदा झडप भएको थियो। यस घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको ५ सदस्यीय टोलीले एक हप्ताभित्र प्रतिवेदन बुझाउनेछ।
