NM Khabar 27 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरीका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, गोली प्रहारपछि एकको मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएका छन्। यसपछि जिल्ला प्रशासन कार्यालयले पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
Kamala Devi
Kamala Devi
27 July 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
सुनसरी कर्फ्यु
Share:

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेका हुन्। राति १२:३० बजे जारी आदेशले तोकिएको सिमानाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउमा पूर्ण रोक लगाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो कदम चालिएको हो। कानुन हातमा लिनेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिइएको छ।

प्रशासनले जिल्लाका पाँच इलाकामा चारकिल्ला तोकेर कर्फ्यु लगाएको छ। इलाका ‘क’ हरिनगरा बजार क्षेत्र (नुनिया टोल, पश्चिम खुनिया धार, हरिनगर गाउँपालिका कार्यालय, वसन्तपुर मोड), इलाका ‘ख’ भुटाहा बजार क्षेत्र (मोरीया धार खोला, इदगाहा फिल्ड, सुनसरी खोला, हरिनगर गाउँपालिका कार्यालय), इलाका ‘ग’ कसनागंज बजार क्षेत्र (यादव टोल, पाँचौ सिमल मावि, कृष्ण मावि, नेपाल-भारत सीमा क्षेत्र), इलाका ‘घ’ घुस्की बजार क्षेत्र (कासमिया मदरसा, प्रहरी चौकी घुस्की, इशा हार्डवेयर, हिलाल पब्लिक स्कुल) र इलाका ‘ङ’ देवानगंज बजार क्षेत्र (विराटनगर जाने बाटोको मुसहर टोल, मोरीया खोला, चिउरा मिल, गाउँपालिका कार्यालय) मा कर्फ्यु लागू छ।

आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै हिँडिरहेको युवा समूह र होहल्लाको आपत्ति जनाउने अर्को समूहबीच सामान्य भनाभन सुरु भएको थियो। विवाद उग्र भई आक्रमण, आगजनी र तोडफोड भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार