सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाह र कृष्णनगरका मेयर अजय कुमार शाहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जारी पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो।
अर्को आदेश नभएसम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न अदालतले निर्देशन दिएको छ। सांसद शाह र मेयर शाहले जिल्ला अदालत कपिलवस्तुले जारी गरेको पक्राउ पुर्जी गैरकानुनी दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले विपक्षी निकायसँग लिखित जवाफ माग गरेको छ।
सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि साउन १८ गते उपस्थित हुन आदेश दिएको छ। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सिताराम रितेश शर्माको जाहेरीमा गत बिहीबार मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत कपिलवस्तुले अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
मुद्दाको थप सुनुवाइपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने निर्णय गर्नेछ।
