NM Khabar 5 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुस्तावासीको आन्दोलन स्थगित: गृह मन्त्रालयको प्रतिबद्धतापछि घर फर्किए

• सीमा अतिक्रमण रोक्न र नागरिकता/लालपुर्जा वितरणको माग गर्दै काठमाडौंमा आन्दोलनमा उत्रिएका सुस्तावासी घर फर्किएका छन्। • गृह मन्त्रालयले सुरक्षाकर्मी परिचालन र नागरिकता वितरणबारे प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको हो। • सोमबार जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनबारे छलफल गरिनेछ।
Kamala Devi
Kamala Devi
5 July 2026, 4:07 pm १ मिनेट पढाइ
आकार:
Share:

सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता पाएपछि आन्दोलन स्थगित गरेर फर्किएका छन्।

गत मंगलबारदेखि काठमाडौंमा धर्ना र प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए।

गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिको विवरण तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराउने विषयमा पत्राचार गरेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको संयोजक खाँले बताए।

सुस्ता फर्किएपछि जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने तयारी रहेको र सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनबारे छलफल गर्ने योजना रहेको उनले बताए।

५० भन्दा बढी सुस्तावासी काठमाडौं पुगेर सीमा अतिक्रमण रोक्न, भूमि संरक्षण गर्न र वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपुर्जा वितरण गर्नुपर्ने तीन प्रमुख मागसहित आन्दोलनमा सहभागी भएका थिए।

आन्दोलनका क्रममा उनीहरूले गौशालाबाट नारा जुलुससहित माइतीघर मण्डलामा धर्ना बसेका थिए। गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि उनीहरूले हालका लागि आन्दोलन स्थगित गरी गाउँ फर्किएको बताएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार