नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार राति नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ। ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन दिल्ली पुगेका वाग्लेले कार्यक्रमपछि मोदीसँग कुराकानी गरेका हुन्।
अर्थ मन्त्रालयका अनुसार नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको सत्रमा अर्थमन्त्री वाग्ले अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम सकिएपछि दुई नेताबीच छोटो भेट भएको मन्त्रालयले जनाएको छ।
सहकार्यका क्षेत्रमा वाग्लेका प्रस्ताव
अर्थमन्त्री डा. वाग्लेले पोषण, स्वच्छ ऊर्जा र विपद् प्रतिकार्यजस्ता क्षेत्रमा नेपाल–भारत सहकार्यलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सत्रमा संवादका क्रममा यस्तो प्रस्ताव राखेका हुन्।
डा. वाग्लेले नेपालमा हालै रोशी क्षेत्रमा आएको विपद् र सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको प्रशंसा गरे। उनले योग, कोदो, सौर्य ऊर्जा र विपद् प्रतिकार्यलाई नेपाल–भारत सहकार्यका महत्त्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गरे। यी क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय वा उपक्षेत्रीय तहमा सहकार्यलाई औपचारिक संरचनामार्फत अघि बढाउन सकिने सम्भावनाबारे उनले भारतीय विदेशमन्त्रीसँग प्रश्न गरेका थिए।
जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले सबै सहकार्यलाई औपचारिक संरचनामा बाँध्नु आवश्यक नहुने धारणा राखे। उनका अनुसार, सम्झौता र संस्थागत संरचना निर्माणमा धेरै समय तथा ऊर्जा खर्च हुँदा कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्य ओझेलमा पर्न सक्छ। उनले जटिल संरचनाभन्दा कम बोझिलो र परिणाममुखी सहकार्यतर्फ विश्वको अभ्यास उन्मुख भइरहेको बताए।
प्रधानमन्त्री बालेनको भारत भ्रमण घोषणा
यसअघि, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सन् २०२६ को अन्त्यसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्ने घोषणा गरेका थिए। हाम्रो अघिल्लो खबर अनुसार, यो घोषणा वाग्लेको दिल्ली भ्रमणकै क्रममा भएको थियो।
बिहार चुनावले सीमा नाका बन्द
भारतको बिहारमा विधान परिषद् सदस्य (एमएलसी) निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका बिहीबारदेखि २४ घण्टाका लागि बन्द गरिएको छ। बिहारमा शुक्रबार अक्टोबर २३ मा विधान परिषद्का आठ सिटका लागि मतदान हुँदैछ।
नेपाल प्रहरीका अनुसार सीमा बन्द गरिएपछि नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने आवतजावत रोकिएको छ। सीमा बन्दको अवधिमा सर्वसाधारणको आवतजावत प्रभावित हुने भएकाले भारततर्फ जाने वा नेपाल फर्किने यात्रुले सम्बन्धित सुरक्षा निकायसँग आवश्यक जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ। यो सीमा नाका शुक्रबार बेलुकी ८ बजेसम्मका लागि बन्द रहनेछ।
नेपाल रेल्वे बिहीबार सञ्चालनमा रहे पनि शुक्रबार चल्ने वा बन्द रहने सन्दर्भमा रेल्वे कार्यालयले स्पष्ट जानकारी दिएको छैन। एक कर्मचारीका अनुसार बोर्डर बन्द भएपछि रेल पनि बन्द रहनेछ।
यसअघि: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रधानमन्त्री बालेनको भारत भ्रमण घोषणा, मोदीसँग भेट
