स्विट्जरल्यान्डले नेपाललाई अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको यो ड्रोन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको पहलमा नेपाल ल्याइएको हो।
स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने संरचनाको निरीक्षण तथा मानवीय उद्धारका लागि प्रयोग गर्न सकिन्छ। यसमा विशेष सुरक्षा घेरा जडान गरिएको छ, जसले सुरुङभित्र उडानका क्रममा भित्ता वा चट्टानमा ठोक्किए पनि ड्रोनलाई ठूलो क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता प्रदान गर्दछ।
यो प्रविधिले उद्धार टोलीलाई सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सघाउनेछ। फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिनुका साथै सुरुङको जोखिम मूल्याङ्कन र उद्धारको रणनीति तय गर्नसमेत ड्रोन उपयोगी हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, उद्धारकर्तालाई सुरुङभित्र पठाउनुअघि ड्रोनमार्फत सम्भावित जोखिम पत्ता लगाउन सकिने भएकाले कठिन तथा जोखिमपूर्ण उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन यो प्रविधिले महत्वपूर्ण भूमिका खेल्नेछ। यसले जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटना र विपद्का घटनामा खोज तथा उद्धारलाई चुनौतीपूर्ण बन्दै गएको अवस्थामा एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
