पर्साको ठोरीमा पछिल्लो २४ घण्टामा १९१.२ मिलिमिटर वर्षा भएको छ। देशभर मौसम बदली भएसँगै तापक्रममा उल्लेख्य गिरावट आएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो ठोरीमा भएको धेरै भारी वर्षाको नजिक हो। मकवानपुरको भोर्लेनी, गढी र रजैयामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। बाँकेमा ४८ मिलिमिटर पानी पर्यो, जुन भारी वर्षाको नजिक हो।
कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको छ। मौसमविद् सरोज पुडासैनीले तराईमा मंगलबारसम्म मौसम बदली रहने बताए। गर्मी घट्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।
यो प्रि-मनसुनको समय भएकाले हावाहुरी र चट्याङको जोखिम छ। सतर्क रहन उनले अनुरोध गरेका छन्। विभागको अभिलेखअनुसार शनिबार देशभरको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियसभन्दा तल झरेको छ।
शनिबार सबैभन्दा बढी तापक्रम धनगढीमा ३५.८ डिग्री सेल्सियस रेकर्ड भएको छ। चन्द्रगढी विमानस्थलमा ३४.४, जनकपुरमा ३३, धरानमा ३३.७, विराटनगरमा ३३.२, भैरहवामा ३४ र नेपालगञ्जमा ३३.९ डिग्री सेल्सियस तापक्रम पुगेको छ। काठमाडौंको अधिकतम तापक्रम २५.३ डिग्री सेल्सियस छ। यस वर्ष यसअघि काठमाडौंमा ३० डिग्री र नेपालगञ्जमा ४१ डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो।
