काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २,४५३ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यसबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, मादक पदार्थ सेवन गरी सवारी चलाउने १०५ जनासहित विभिन्न कसुरमा चालकहरूलाई कारबाही गरिएको हो। तीव्र गतिमा सवारी चलाउने १८६, रातोबत्ती क्रस गर्ने १८४, लेन अनुशासन उल्लंघन गर्ने १४, सडक पेटीमा सवारी चलाउने १००, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ११९, एकतर्फी सडकमा विपरीत दिशामा चलाउने १३९ र अन्य कसुरमा १,३६८ जनालाई जरिवाना गरिएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको जनाएको छ। यस्तो कार्यमा संलग्न व्यक्तिको शङ्का लागेमा प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक कन्ट्रोल रुमको १०३ मा खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
